Breaking News

निजी स्कुलका बिधार्थी को बेथा कस्ले सुनीदेलाः ब्यावहारिक ज्ञानका कुरा सिकाउदै नसिकाई पिजडाभित्रको खाल्डोमा धकेल्दै

महेश खनाल

नयाँ वर्ष लागेसँगै विद्यार्थी भर्ना कार्यक्रम पनि धमाधम भइरहेको छ । लाखौँ स-साना विधार्थीलाई उनीहरुको उज्ज्वल भविष्यको लागि उनीहरुको बुवाआमाले विद्यालयमा भर्ना गरिरहेका छन् । ठूलो झोला सँगसँगै ठूलो सपना बोकेर स–साना विद्यार्थीहरु विद्यालयतिर लम्किरहेका छन्।

जब एउटा विद्यार्थी बोर्डिङ स्कुलमा छिर्छ, त्यतिबेला किताब र कापीको जति भारी हुन्छ त्यति भारी पढाईको पनि हुन्छ । बाबुआमाले आफ्ना छोराछोरीको क्षमता भन्दा ठूलो झोलाको भारी बोकाएर बोर्डिङ पठाउन्छ्न् ।

झोलाको भारीसँगै बोर्डिङ छिरेका कलिला नानीबाबु निस्किदा पनि भारी मन बनाएर निस्किन्छन् ।

सानैबाट पढाइको यति धेरै दबाब दिइन्छ कि उनीहरुको दिमागले थेग्नै सक्दैन। पढ्नु भनेकै बाबुआमाको अगाडि कापीकिताब लिएर बसेको हुनै पर्ने पद्दति छ हाम्रोमा। बोर्डिङ जाने विद्यार्थीलाई उसको स्वतन्त्रता अलिकति पनि दिइँदैन । छोराछोरीका सबै स्वतन्त्रतालाई बाबुआमाले नै कब्जा गरेका हुन्छन् । बोर्डिङ स्कुलमा पनि गयो खाजा खाने समय बाहेक ६–७घण्टा लगातार पढाइन्छ । बिचरा त्यो विद्यार्थीको दिमाग कति थाक्दो हो।

बाबुआमा अनि स्कुलले हाँस्ने खेल्ने रमाउने जस्ता विद्यार्थीको इच्छा चाहानालाई जबर्जस्ती आफ्नो पक्षमा लिएर विद्यार्थीको स्वतन्त्रतामाथि कब्जा जमाउन्छन्। बोर्डिङ पढ्ने विद्यार्थीलाई यति धेरै होमवर्क दिइन्छ कि उनीहरुलाई सुत्ने बाहेक अरु फुर्सद हुँदैन। भोलि यो नपढे ,यो होमवर्क नगरे पिटाई अनि गाली खाइन्छ भन्ने उनीहरुको मन–मष्तिष्कमा बसिसकेको हुन्छ ।

भ्याइनभ्याई सबै होमवर्क सकाउन्छन् । न उनीहरुलाई खेल्ने समय हुन्छ, न उनीहरुलाई न अरु रमाइलो गर्ने समय नै हुन्छ । उनीहरुको दिमागमा पढाईबाहेक अरु केही हुँदैन । त्यही भारी झोला, भारी मन, अनि भारी दिमागको चक्र दिनदिनै यसरी नै चलिरहन्छ ।

शनिबार होस् वा अन्य कुनै बिदाको दिन होस्, विद्यार्थीलाई अघिल्लो दिनबाटै त्यो दिनभरीलाई पुग्ने होमवर्क दिइन्छ । कमसेकम बिदाको दिन त दिनभरि खेल्न पाउन्, दिनभरी रमाइलो गर्न पाउन् । अहँ, तर त्यसो हुँदैन। भागेरै भए पनि खेल्न गयो साँझ आउँदा बाबुआमा कराउन थाल्छ्न् । ‘छुट्टी त हुनै हुँदैन खेल्न जान पर्छ’ भन्दै पिटाइ अनि गाली सुरु हुन्छ ।

बिस्तारै छोराछोरी ठूलो हुँदै जान्छन्, पढाई पनि राम्रै हुन्छ, सँधै क्लासमा फर्स्ट नै हुन्छ्न् कहिल्यै सेकेण्ड हुँदैनन् । सबै किताबको कुराहरु कण्ठ पारेका हुन्छन्, फर्मुलाहरु पनि फररर भन्छन्, (a+b)2 भन्न नपाउँदै a2+2ab+b2 भनिहाल्छन्। उनीहरुलाई यो किताबको यो पेजमा के छ भनेर सोध्ने हो भने पनि भन्छन्।

उनीहरुलाई पुस्तकको पढाई नै सबथोक भनेर पढाइएको हुन्छ । तर व्यवहारिक कुरा कहिल्यै सिकाइन्न। किनकी बाबुआमा अनि बोर्डिङ स्कुललाई केवल सर्टिफिकेट चाहिएको हुन्छ त्यो पनि ९० % भन्दा माथिको। Sin थिटा =Tan थिटा / Cos थिटा भनेर सिकाएको यो फर्मुला जिन्दगीमा कतै प्रयोग हुन्छ ? प्रयोग हुन्छ त केवल १०० मा ९८ ल्याउन ।

९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

हरेक किताबका एक–एक पेजहरुको हरेक समस्याहरुको हल गर्न सिकाइयो तर जिन्दगीको हरेक पाइलाहरुमा कसरी चल्नपर्छ भनेर कहिल्यै सिकाइएन । र त अहिले उसँग पढाई बाहेक केही छैन। बोर्डिङका हरेक परीक्षाहरुमा शतप्रतिशत अंक ल्याउन सक्ने गरी सिकाइयो तर जिन्दगीको परीक्षाहरुमा पास हुनसम्म सिकाइएन।

दालभात नेपाली टिपिकल खाना हो भनेर कति पटक घोकाइयो । तर दाल र चामल कसरी फल्छ र दाल अनि भात कसरी बनाउने भनेर कहिल्यै सिकाइएन । त्यसैले त उसलाई अहिले केही बनाउन आउँदैन । किनकी हामीलाई त नम्बर चाहिएको थियो हाम्रो शिक्षा पद्दति त घोकन्ते र नम्बरको लागि मात्रै थियो।

आज छोरो ठूलो भएको छ, सानोतिनो जागिरमा पनि छ, तर न त उसलाई घर परिवार थाहा छ, न त उसलाई आफ्नो आफन्तजन नै थाहा छ, न त उसलाई जीवनको कुनै व्यवहारिक पक्ष नै थाहा छ। अनि अहिले आएर बाबुआमा पछुताउँछन् छोराछोरीको व्यवहार देखेर । छोराछोरीको इच्छा चाहाना के थियो, उनीहरु के बन्न चाहान्थे कहिल्यै बुझ्न चाहेनन् बाबुआमाले । अनि अहिले छोराछोरी पनि त्यस्तै निस्किएका छन् । घर परिवार बाबुआमाको इच्छा–चाहना नै बुझ्दैनन् बुझुन् पनि कसरी उनीहरुलाई सानैबाट पढाई नै सबथोक भनेर सिकाइयो । उनीहरुको स्वतन्त्रतामाथि हस्तक्षेप गरियो।

सानैबाट नै क्रिकेटर बन्छु भनेको छोरोलाई खेल्यो भने मान्छे बिग्रिन्छ भनेर खेल्न दिइएन । सानैबाट डान्सर बन्छु भनेकी छोरीलाई नाच्यो भने बिग्रिन्छे भनेर नाच्न दिइएन। आफ्नो छोरोलाई ब्याट र बल छुन नदिएका बाबुआमाले अहिले सन्दीप लामिछाने विश्वभरी चम्किरहेको देखेर छाती पिट्दै हिँडेका छन् । आफ्नो छोरीलाई नाच्न नदिएका बाबुआमा अहिले तेरिया मगर विश्वभरी छाइरहँदा छाती पिट्दै हिँडेका छन्। सानैमा छोराछोरीको इच्छा बुझेर उनीहरु जे बन्न चाहन्थे त्यही बनाएको भए अहिले आफ्नो छोराछोरीको नाममा छाती पिट्दै हिँड्न पर्दैन थियो होला।

त्यसैले छोराछोरीलाई बोर्डिङ पढाएको छु भनेर मख्ख नपर्नुस् । जति सक्दो उनीहरुको इच्छा चाहानालाई बुझिदिने प्रयास गरिदिनुस्, सानैमा नै छोराछोरी के बन्न चाहेको हो पहिचान गर्नुस्, उ के बन्नको निम्ति जन्मिएको उसलाई त्यही क्षेत्रमा लाग्न दिनुस्। पूर्व जान छ भने पूर्वकै गाडीमा चढाउनुस् पश्चिमकोमा हैन ।

छोराछोरीको लक्ष्य र उद्देश्य एकातिर हुँदाहुँदै जबर्जस्ती उनीहरुको स्वतन्त्रतामा हस्तक्षेप नगर्नुस् । सकेसम्म किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान बढी दिनुस् । विद्यालयको परीक्षाहरु सँगसँगै जिन्दगीको परीक्षाहरुमा पनि विशिष्ट श्रेणीमा पास हुने बनाउनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *