Breaking News

नेपालमा ६ ओटै जहाज आए तर अहिले सम्म काम बिहिन …

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् ।

फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना विमान वाई १२ ई लाई मंगलबार चिनियाँ सरकारी एजेन्सी एभिक इन्टरनेसनल र काठमाडौंस्थित दूतावासले एक समारोहबीच नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्‍यो। तर, चिनियाँ विमान उडाउने निगमले यी सबै जहाजलाई नियमित व्यावसायिक उडानमा ल्याउन सकेको छैन।

निगमका अनुसार, प्रशिक्षक पाइलट, क्याप्टेन, स्पेरपार्टस्, महँगो बिमा, निगमकै कमजोर व्यवस्थापन चिनियाँ विमानले बेहोर्दै आएका प्रमुख समस्या हुन्। सडक सञ्जालसँग नजोडिएका दुर्गम र हिमाली भेगका नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यले नेपाल सरकारले २०७० मंसिरमा ६ वटा विमानका लागि चीन सरकारसँग सम्झौता गरेको थियो।

जहाज हस्तान्तरण समारोहमा बोल्दै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी दिनमा चीन सरकारको सहयोगबिना यी छवटै विमान राम्रोसँग सञ्चालन सम्भव नहुने बताए। ‘नेपाल सरकारले सम्झौताअनुसार, सबै जहाज हामीले प्राप्त गरेका छौं तर चिनियाँ विमान सञ्चालनमा केही समस्या देखिएका छन्। यिनमा केही हाम्रोतर्फबाट छन् भने केही एभिक (चिनियाँ जहाज विक्रेता कम्पनी) का तर्फका रहेका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा महाप्रबन्धक कंसाकारले औंल्याए।

उनका अनुसार यी विमानमा मर्मतसम्भार र सञ्चालनमा समस्या छन्। मर्मततर्फ एकाएक बिग्रेको विमान बनाउन आवश्यक पर्ने स्पेयरपार्टस् चीनबाट ल्याउँदा धेरै समय लाग्ने गरेको छ। ‘एभिकले हवाईमार्गबाट होइन, पानीजहाजको बाटो हुँदै सडकमार्गबाट स्पेयरपार्टस पठाउँछ। यस्ले गर्दा जहाज धेरै दिन ग्राउन्डेड हुन्छन्,’ निगमका एक इन्जिनियरले भने। त्यसैगरी सञ्चालनतर्फ यी विमानसँग दख्खल राख्ने पाइलटको अभाव हो। यो समस्या १७ सिट क्षमताको वाई १२ ई विमानले बेहोर्दै आएका छन्। अहिले पनि यी वर्गका विमान उडाउने पाइलट अभाव छ। यी चार विमान तीन जना क्याप्टेनसहित १० पाइलट छन्। तर, यी पर्याप्त होइनन्।

पाइलटको समस्या सुगम रुटमा उड्ने ५६ सिट क्षमताको एमए ६० मा भने छैन। दुईटा एमए ६० विमानका लागि चार जना क्याप्टेन र दुई जना कोपाइलट छन्। तर एमए ६० बिग्रिहाले स्पेयर पार्टसै समस्या हुन्छ। ‘चीनबाट ल्याउनुपर्छ,’ एमए ६० का एक पाइलटले भने, ‘उताबाट ल्याउँदा कम्तीमा एक हप्ता लागिहाल्छ। त्यसैले निगमका इन्जिनियरहरूले एउटा विमान बिग्रेपछि अर्को विमानको सामान झिकेर उडानयोग्य बनाउँछन्।’

निगमका इन्जिनियरहरूले यसो गर्न थालेको वर्षौं भयो। त्यसैले चीनबाट ल्याइएका सबै विमान सँगसँगै उडेको रेकर्ड बिरलै छ। यो ममलामा निजी क्षेत्र धेरै अघि रहेको छ। जस्तो नयाँ विमान नेपाल भित्र्याइएको चार दिनमै निजी क्षेत्रले उडान भरेको रकेर्ड छ। निगमले दुई महिनाअघि ल्याएका साना दुइटा विमान अझै व्यावसायिक उडानमा आइसकेका छैनन्। ‘जहाजको बिमा र उडानयोग्य रहेको प्रमाणको कागजात अझै निगमले पेस गर्न नसकेकाले उडान अनुमति पाइसकेको छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अबको तीन महिनाभित्र सबै चिनियाँ विमान व्यावसायिक उडानमा ल्याउन निर्देशन दिएका छन्। ‘मैले निगमका महाप्रबन्धकलाई अबको सय दिनभित्र सबै चिनियाँ विमान सञ्चालनमा ल्याउन भनिसकेको छु,’ मन्त्री अधिकारीले भने। उनले नेपाल र चीनबीचको सम्बन्ध जहाज उडेजस्तै हुनुपर्ने बताए। ‘जहाज नउडे दुवै देशको सम्बन्ध चलेको मानिने नै छैन। त्यसैले जहाज नचल्ने अवस्था नहोस्,’ समारोहमा पुगेका मन्त्रीले भने।

विश्वभर बढै गएको पाइलट अभाव नेपालमा पनि हुँदै गएको उल्लेख गर्दै मन्त्री अधिकारीले नयाँ पुस्तालाई पाइलटमा आकर्षण गराउन पनि निगमलाई निर्देशन दिए।

पर्यटन मन्त्रालयका अनुसार चीनबाट ल्याइएका ६ विमानमध्ये एउटा एमए–६० र एउटा वाई १२–ई विमान चीन सरकारले अनुदानमा दिएको हो भने बाँकी चार सहुलियतपूर्ण ऋणमा खरिद गरिएका हुन्। कुल रकममध्ये २ अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।

अनुदानअन्तर्गत ०७१ वैशाखमा चीनले नेपाललाई ५६ सिट क्षमताको एमए ६० र त्यसै वर्षको कात्तिकमा दुर्गम उडानका लागि १७ सिट क्षमताको वाई १२–ई विमान उपलब्ध गराएको थियो। बाँकी सहुलियत ऋणका विमान पछि फरकफरक समयमा ल्याइएका थिए। चिनियाँ जहाज बारम्बार ग्राउन्डेड हुने, मर्मत तथा बिमा शुल्क अत्यधिक चर्को तथा आम्दानी न्यून देखिँदै गएपछि निगमले पर्यटन मन्त्रालयलाई बाँकी विमान नलिने भन्दै लिखित असहमति पनि पठाएको थियो। निगमले दुवै जहाजको परफर्मेन्स चार्ट (प्राविधिक क्षमतासूची) मा उल्लेख गरिएअनुसार नभएको भन्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *