Breaking News

गाडीमा प्रेट्रोल हालेर तुरुन्तै चलाएर नहाक्नुहोस, आगलागि हुन सक्छ, जनहितको लागि सेयर गरौ …

पुस ५ गते बिहीबार बिहान वीरगन्जको एउटा ग्यास उद्योगमा आगलागी भएर जनधनको क्षति भयो। ग्यास उद्योगमा आगलागीको यो नै पहिलो घटना हो।

यस उद्योगसँग सम्बन्धित व्यवसायीहरुको संगठनका कुनै पदाधिकारीले गाडीको इन्जन स्टार्ट गर्दा भएको ‘स्पार्क’ले दुर्घटना भएको भने। गाडी पुराना भएको, ग्यास ट्‍यांकर पुराना भएको वृत्तान्त पनि उनले प्रस्तुत गरे।

के गाडी पुराना भएर अथवा स्टार्ट गर्दा उत्पन्न स्पार्कले आगलागीको घटना हुन सक्छ? यस विषयमा केही चर्चा गरौँ।

पेट्रोल पम्पमा वा ग्यास रिफिल प्वाइन्टमा हामी सबैले एउटा नोटिस बोर्ड झुण्डिएको पाउँछौँ, ‘कृपया मोबाइल फोन प्रयोग नगरिदिनु होला।’

के पेट्रोल अथवा ग्यास ‘रिफिल’ गर्दा मोबाइल फोन प्रयोग गर्नाले आगलागीको दुर्घटना निम्त्याउन सक्छ? जवाफ हो, किञ्चित पनि सम्भावना छैन।

मोबाइल फोनबाट उत्सर्जित रेडियो तरंगको ‘फ्रिक्वेंसी’ प्रायः ४५० देखि २७०० मेगाहर्जसम्म हुन्छ, यसले उत्पन्न गर्न सक्ने अधिकतम ‘एनर्जी’ ०.१-०.२ वाट सम्म हुन सक्छ। यस मात्राको ‘एनर्जी’ स्तरले पेट्रोलमा आगो सल्काउने सामर्थ्य राखेको हुन्‍न। भनाइको अर्थ मोबाइल फोनको प्रयोगबाट वातावरणमा ‘रिलिज’ भएको ‘एनर्जी’ले पेट्रोल बाल्न सक्दैन। यसैले यो तर्कमा कुनै दम छैन।

एउटा अर्को पनि निषेधाज्ञा पाउँछौँ हामी यी स्थानहरुमा, ‘धुम्रपान मनाही छ।’ के सल्किएको चुरोटले पेट्रोल बाल्न सक्छ? आफैँ प्रयोग गरी हेर्नुस्, एउटा भाँडोमा केही मात्रामा पेट्रोल लिनुस् अब चुरोट सल्काएर नजिक लैजानुस्, केही भएन। बल्दै गरेको चुरोट पेट्रोलमै फ्याली हेर्नुस्, के भयो? के हुनु नि, चुरोट निभ्छ।

हलिउडदेखि बलिबुड हुँदै कलिबुडसम्मका सिनेमामा तपाईँले हेर्नुभएको छ, कुनै एउटा पात्रले चारैतिर पेँट्रोल छर्केर आफू पर गई मस्तसँग चुरोट सल्काउँछ, दुई चार सर्को तान्छ, चुरोट पेट्रोल छर्केतिर फ्याल्छ र त्यहाँ आगलागीको दृश्य देखाइन्छ। यी निर्माता र निर्देशकलाई भौतिक विज्ञानको अलिकति पनि ज्ञान भएको भए यस्ता दृश्य फिल्माकंन गर्ने थिएनन्।

तर पेट्रोल पम्पमा आगलागीका घटनाहरु भएका छन्। यथार्थमा आगलागीका थुप्रै कारण हुन सक्छन्। सम्बन्धित स्थानका कर्मचारीको असावधानी, हेलचेक्याइँ, लापरबाही आदि। तर के तपार्इँ पत्याउनु हुन्छ, पेट्रोल पम्पमा तपाईँको उपस्थितिले पनि आगलागी हुन सक्छ!

बुझ्न अलिक घुमाउरो बाटोबाट जानुपर्छ। तपाईँलाई थाहै छ संसारको प्रत्येक वस्तु ‘एटम’ ले बनेको छ। ‘एटम’ को संरचनामा ‘इलेक्ट्रन’ को निरन्तर परिक्रमा चलिरहन्छ। तपाईँलाई लाग्छ, चारैतिरको संसार (गतिशील वस्तुबाहेक) स्थीर छ, तपाईँ भ्रममा हुनुहुन्छ। प्रकृतिको शब्दकोषमा स्थिरता भने शब्दावली छैन। स्थिरता मानवीय दिमागको उपज हो। तपाईँ पनि ‘एटम’ ले नै बनेको हो।

यदि तपार्इँ ७० केजीको हुनुहुन्छ भने तपाईँको संरचनामा ७ का पछाडि २७ वटा शून्य राखेर जुन संख्या तयार हुन्छ त्यति ‘एटम’ को जोड हो तपाईँ। प्रतिपल प्रत्येक ‘एटम’ भित्र ‘इलेक्ट्रोन’ले फन्को लगाइरहेको हुन्छ। र भौतिक विज्ञानले भन्छ, तपाईँ प्लास्टिक नाइलनजस्ता तत्वले बनेको कुनै वस्तुको सम्पर्कमा आउँदा यिनीबाट ‘इलेक्ट्रन्स’ ग्रहण गर्नुहुन्छ।

यसले गर्दा तपाईको शरीर ‘चार्ज’ हुन पुग्छ, तपाईँलाई विश्वास गर्न गाह्रो हुन्छ होला कि तपाईँका शरीरमा यसरी यी बाहिरबाट आएका ‘इलेक्ट्रन्सले’ तपाईँलाई २०–२५ हजार वोल्टको ‘पोटेन्सियल एनर्जी’ प्रदान गर्न सक्छन्।

यसरी ‘चार्ज्ड’ भएको अवस्थामा तपाईँले कुनै धातुसँग सम्पर्क गर्दा तपाईँको शरीरमा भएका यी ‘इलेक्ट्रन्स’ तीव्रतासाथ अर्को धातुमा प्रवाहित हुन्छन् । ‘इलेक्ट्रन्सको’ यो प्रवाहले विद्युत उत्पादन हुन्छ । प्रायः यसरी उत्पन्न भएको विद्युतको ‘स्केल’ न्यून हुन्छ । वातावरणमा भएको आद्रताले यसलाई ‘मिनिमाइज’ गरिदिन्छ। तर कहिलेकाहिँ हावामा आद्रताको न्यूनता हुँदा, मौसम शुष्क हुँदा विद्युतको यस प्रवाहले ‘झिल्को’ जन्माउँछ।

अब हेरौँ, तपाईँ पेट्रोलपम्पमा पुग्नु हुन्छ, त्यहाँ रहेको ‘अटेन्डेन्ट’ ले तपाईँको वाहनमा पेट्रोल भर्न थाल्छ। उसले यसरी पेट्रोल हालिरहँदा ‘फिलिङ पाइप’ बाट पेट्रोल ‘भेपोराइज्ड’ हुन्छ। यो भेपोराइजेसन वरपरको वातावरणमा र तपाईँको गाडीभित्र पनि आउन सक्छ। कारको सीटमा यताउति हल्लिरहेको तपाईँको शरीर सिटबाट इलेक्टोन ग्रहण गरी ‘चार्ज्ड’ भइसकेको हुन्छ। बुझ्नुस् अब तपाईँ कारको ढोका छुन पुग्नुहुन्छ।

तपाईँको शरीरले कारको सीटबाट ग्रहण गरेको ‘इलक्ट्रोन’ तीव्रतासाथ कारको ढोकामा प्रवाहित हुन्छन्। यो प्रवाहको क्रममा माथि भनिएझैँ ‘स्पार्क’ उत्पन्न हुन सक्छ। लाखौँ करोडौँ यस्ता घटनामध्ये कुनै एक घटनामा कारमा आगलागीको घटना हुन सक्छ।

अबदेखि होस पुर्‍याउनुहोला, अफ्नो वाहनमा पेट्रोल वा ग्यास ‘रिफिल’ गराउँदा कारबाट ओर्लिने गर्नुहोस्। र, पेट्रोल रिफिल गर्दा कारको ढोका खोलेर भित्रबाहिर नगर्नुहोस्। अझै स्योर र सुरक्षित हुन ‘रिफिल’ भइसके पश्चात कारको ढोका छुनभन्दा पहिला अन्य कुनै ‘मेटल’ छोएर आफूलाई ‘डिस्चार्ज्ड’ बनाउनुस्।

वीरगंजको ग्यास उद्योगको दुर्घटनामा ‘स्पार्क’ मोटरबाट भयो वा कुनै अन्य प्रकारले, महत्वपूर्ण ‘स्पार्क’ होइन। कहिँ न कतै ‘ग्यास’ लिक भएर वातावरणमा ग्यासका ‘भेपर’ विद्यमान थिए, त्यो ‘स्पार्क’ले ‘भेपर’ सल्किएर आगलागी भएको हो।

ग्यास ‘लिक’ भएर वातावरणमा विद्यमान नभएको भए ‘स्पार्क’ भएको गाडी बल्न सक्थ्यो तर यति ठूलो दुर्घटना हुन सक्ने थिएन। आशा गरौँ, यस सम्बन्धमा छानबिन गर्ने टोलीले सबै तथ्य संज्ञानमा लिएर आफ्नो अनुसन्धान अगाडि बढाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *