Breaking News

भाडाको स्वास्नी

खुल्ला आकाशमा उढ्ने चाहना थियो । उम्रिन लागेको पखेटालाई फेदै लगाएर काटिदिए अनि श्रीमानको घर नाम गरेको पिंजडामा कैद भएँ । मलाई त्यो घर खै किन वेश्यालय जस्तो लाग्यो अनि म वेश्या जस्तै ।

जहाँ मेरो भावनाको कुनै कदर थिएन । मेरो श्रीमान नाम गरेको ग्राहक दिनभरी बाहिर जान्थ्यो रातमा मेरो शरीर भोग गर्थ्याे । बदलामा घर खर्च भन्दै बिहान केही रकम छाडेर बाहिरिन्थ्यो । लाग्थ्यो त्यहाँ उसले मेरो शरीर भोग गरे बापत भाडा तिरेर गयो ।

म मात्र होइन मेरा घरमा भएका अन्य महिलाहरु पनि म जस्तै वेश्या जस्तो लाग्न थाल्यो । वेश्यालयका वेश्या र हामीमा धेरै कुरा मिल्दोजुल्दो नै थियो ।

उनीहरु धेरै जना ग्राहकको चाहना पुरा गर्थे भने हामी श्रीमान नाम गरेको ग्राहकलाई मात्र खुशी पार्न तयार रहनु पथ्र्याे । वेश्यालयमा छोराछोरी जन्माउने छुट थिएन तर हामीमा त्यो बम्पर अफर थियो ।

हामी एउटै घरका वेश्याहरुको पनि धेरै समानता थिए । सबैले धेरै लेखपढ गरेका थिएनौँ । दुईचार पैसा कमाउने हुति थिएन । यतिसम्म कि आजको रात तिम्रो सेवा गर्न सक्दिन भन्ने आँट कसैले गर्न सक्दैनथ्यौं ।

छोराछोरी जन्माउने नजन्माउने हाम्रा ग्राहकको अधिकार थियो हामीलाई त केवल सहमतिको मुन्टो हल्लाउन छुट दिइन्थ्यो । श्रीमान नाम गरेको ग्राहकले नै मेरा भौतिक आवश्यकता पुरा गरेको थियो । तर त्यहाँ मेरो कुनै भावना मिसिएको थिएन ।

चाडबाडमा गतिलै साडी मेरो भागमा आइपरे पनि मलाई एक वचन सोधिएन कुन रंग मन पर्छ भनेर । हाम्रा घरमा पुरुष ग्राहकहरु सबै शिक्षित र जागिरे थिए । जागिर नहुनेहरु व्यापार गर्थे ।

हामी तिनका दासीहरु थाकेर आएको श्रीमानलाई के मन पर्छ त्यही गरेका बसेका हुन्थ्यौं । छोराछोरीको हेरचाहदेखि सिंगो घर नाम गरेको पिंजडाको सुरक्षा हाम्रै भागमा थियो । त्यहाँ हामी न रमाउन सकेका थियौं न त्यो पिंजडाबाट बाहिरिन नै ।

चाहे सम्पत्ति जोड्ने कुरा होस् चाहे बिक्री गर्ने, हाम्रो कुनै राय आवश्यक थिएन । बेलाबेलामा मलाई त्यो घरका महिलाहरु सास फेर्ने मुर्ति जस्तै लाग्थ्यो ।

सिर्जना बस्नेत

श्रीमान भन्ने मान्छेसँग राति ओछ्यानमा शरीर एउटै भए पनि मनसँगको दुरी कोषौँ टाढा थियो । हामी दिनभरी घरको पैसा नआउने काममा खटिएको हिसाब राख्ने कुनै खाता थिएन त्यहाँ । हरेक कुरा बाहिरबाट हेर्दा ठिक देखिन्छ । तर, त्यो मनको व्यथा भोग्ने म जस्ता बेहिसाब महिलाहरु केबल भाडाका स्वास्नी बाहेक अरु केही थिएन ।

हामी जस्ता आफ्नै श्रीमानबाट वेश्या हुने महिलाहरु आज म जताततै देख्न थालेको छु । श्रीमानको नामको सिन्दुर सिउँदोमा लगाइदिएर हामलिाई वेश्या बन्ने लाइसेन्स दिएको छ ।

हामी महिलाहरुलाई माइतीबाटै वेश्या बनाउने तयारी गरिएको हो । सँगैको छोरालाई विद्यालय पठाउँदा छोरीलाई बेवास्ता गरिन्छ ।

विद्यालयको पढाइ सक्न नपाइ जागिरे केटो भेट्ने बित्तिकै जिम्मा लगाएर पठाइन्छ । यत्तिको केटाले छोरीलाई पाल्ला ! ठानेर बिदा गरिएको छोरीको हालत सँधै श्रीमानबाट पालिनु बाहेक अरु बिकल्प हुँदैन ।

जब छोरीले पनि ज्वाईंले जस्तै कमाउन थाल्छे तब निर्णय गर्न सक्ने हैसियत राख्दछे । श्रीमानको कमाइबाट पेट भर्नु पर्ने बाध्यता जबसम्म हुन्छ तबसम्म भाडाकी स्वास्नी बन्नु पर्छ ।

उसको परिवारको हेरचाह अनि उसलाई सन्तुष्टि दिलाए बापत हातमा चुरा लगाउनु भन्दै केही रकम थमाइ दिन्छ अनि फुकालिएको पेटिकोटको तुना कस्नु थाल्नुपर्छ ।

श्रीमान भन्ने मान्छेसँग राति ओछ्यानमा शरीर एउटै भए पनि मनसँगको दुरी कोषौँ टाढा थियो । हामी दिनभरी घरको पैसा नआउने काममा खटिएको हिसाब राख्ने कुनै खाता थिएन त्यहाँ । हरेक कुरा बाहिरबाट हेर्दा ठिक देखिन्छ । तर, त्यो मनको व्यथा भोग्ने म जस्ता बेहिसाब महिलाहरु केबल भाडाका स्वास्नी बाहेक अरु केही थिएन ।

उसको सेवामा अपुग भए घर खर्च भनेर छुट्याएको रकम पनि कटौती हुन्छ । अनि हामी जस्ता भाडाका स्वास्नीलाई श्रीमानले आवश्यता पुरा गरिदिएन भने म कहाँ जानु ? भन्ने पिरलो थपिन्छ ।

हामी पनि ती पुरुषसरह कमाउन सक्ने हुन्थ्यौं भने तिनको सेवामा तल्लिन हुनु पर्ने बाध्यता हँुदैन थियो । अर्काे कुरा श्रीमती श्रीमान भन्दा कम पढेलेखेकी छन् भन्दैमा उसलाई गर्ने व्यवहार नै फरक किन गरिन्छ ?

जहिले पनि आर्थिक रुपमा सम्पन्न व्यक्ति सशक्त अनि कमजोर व्यक्ति पीडित नै बनाइन्छ । मलाई त्यो घरमा जीवित मान्छेको रुपमा सहकार्य गर्न होइन तिनका आवश्यकता पुरा गर्ने नीर्जिव मेसिनका रुपमा भित्र्याएको हो जस्तो लाग्छ ।

मानवसँग त भावना हुन्छ अनि दुख्ने मुटु पनि । तर त्यो कोठीमा कमाउने पुरुष भन्ने मेरो ग्राहक मात्र छ । मसँग प्राय मेरो ग्राहक जस्तो श्रीमानको संवाद भनेको पैसाको बारेमा हुन्छ ।

प्रत्येक पटक उ ‘अघिल्लो महिनाको भन्दा कम खर्च गर । पैसा कमाउन सजिलो छैन । कहिले पैसा कमाएको भए पो थाहा हुन्छ’ भन्दै मेरो हातमा केही रुपैयाँ थमाइ दिन्छ ।

म ‘त्यतिले घर खर्च चलाउन मुश्किल हुन्छ’ भन्दै बार्गेनिङ गर्न थाल्छु । यस्तै बार्गेनिङ मैले वेश्यालयमा आउने ग्राहक र वेश्याबीच भएको दृश्य चलचित्रमा देखेको छु ।

मलाई लाग्छ उसको र मेरो सम्बन्ध केवल ग्राहक अनि भाडामा टिकेको छ । अनि कसरी म उसको जीवन साथी भए ? जीवन साथीले त हरेक दुखेको मनमा मल्हम पो लगाउँछ ।

भित्री मनको कुरा मनले नै महशुस गर्छ । शरीरसँग मात्र सिमित हुँदैन सम्बन्ध । तर यहाँ सब विपरीत छ । शरीर नजिक हुदाँहुदै मन कतै भेटिँदैन । अनि म उसको केवल भाडाको स्वास्नी भन्दा माथि सोच्न सक्दिन ।

नोट : परिवारबाट छुट्एिर बसेकी महिलाको भोगाइमा आधारित । मानसिक समस्याको कारण हाल उहाँ औषधी सेवन गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *