Breaking News

गण्डक जलविद्युत केन्द्रबाट उत्पादन हुने बिधुत समेत बन्द हुने गरी भारतले गण्डक नहर आफ्नो कब्जामा !

परासी–भारतीय पक्षले गण्डक नहरमा पानी बन्द गरेपछि गण्डक जलविद्युत केन्द्रबाट उत्पादन हुने विद्युत उत्पादन ठप्प भएको छ । भारतले गण्डक नहरको निरीक्षण तथा सरसफाईका लागि २ महिना पानी बन्द गरेकाले गण्डक जल विद्युत केन्द्र सुरजपुरामा विद्युत उत्पादन बन्द भएको हो ।

वर्षेनी भारतले चैत्र, बैशाख महिनामा नहरमा पानी बन्द गरेर सरसफाई र मर्मत सम्भार गर्ने गर्दा उत्पादन गृहमा विद्युत बन्द हुदै आएको छ । भारतले गत मार्च २६ तारिखदेखि मे २६ तारिखसम्म गण्डक नहरमा पानी बन्द गरि भत्किएका संरचनाहरुको मर्मत सम्भार गर्ने पावर हाउसले जनाएको छ ।

दैनिक १५ मेगावाट विद्युत उत्पादन क्षमतावान रहेको विद्युत उत्पादन गृहमा तीन वटा टरवाईन जडान गरिएका छन् । जसमध्ये २ वटा टरवाईन मात्र सञ्चालनमा छन् । टरवाईनहरु जिर्ण भएकाले टालटुल गरि टरवाईन नम्बर २ र ३ बाट मात्र विद्युत उत्पादन हुँदै आएको छ । टरवाईन नम्बर १ पुर्ण रुपले ध्वस्त भईसकेको छ । मर्मतको भरमा संचालित २ वटा टरवाईनबाट ६.५ प्रतिशत मात्र विद्युत उत्पादन भैरहेको पावर हाउसले जनाएको छ ।

पावर हाउसको कम उत्पादित विद्युतले नपुग्ने हुँदा भारतको विहार भैंसालोटनबाट दिनहुँ २५ देखि ३० मेगावाटसम्म विद्युत किन्ने गरिएको पावर हाउसले जनाएको छ । यता २ महिनाका लागि पावर हाउस बन्द हुँदा ३ सय ९० मेगावाट विद्युत घाटा लाग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *