Breaking News

चौरासी बेञ्जनका खाना देख्ना साथ हुरुक्कै नहुनुहोस, कस्ता खानाका परिकार कसरी कति खाने ? जानकारी लिनुहोस …

पेट खाली रहँदा दिमागले उत्कृष्ट ढंगले काम गर्छ भनेर अध्ययनहरूले देखाएका छन् । अध्ययनकर्ताहरूले यो पनि पत्ता लगाएका छन् कि खाली पेटले घ्रेलिन नामको हर्मोन उत्पादन गर्छ । त्यही हर्मोनले पेट खाली छ भनेर दिमागमा सन्देश पठाउँछ । सो हर्मोनले यसका साथै अन्य काम पनि गर्छ । घ्रेलिनले दिमागमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रलाई सक्रिय बनाउँछ ।

हिप्पोक्याम्पस दिमागको त्यो क्षेत्र हो, जसले सिक्ने, स्मरण गर्ने र स्थानसम्बन्धी अनुसन्धानको नेतृत्व गर्दै हामीलाई सधैं सतर्क, क्रियाशील र ध्यान केन्द्रित रहन मद्दत गर्दछ । पेट खाली हुनेबित्तिकै दिमाग सक्रिय हुन्छ भन्नुको अर्थ हामीले कहिल्यै खाना खानु हुन्न भन्ने होइन । तर खाना कति खानुपर्छ भन्ने विषयमा हामी सचेत हुनुपर्छ ।

तपाईंले दिनभर खाना खाइरहन हुँदैन । तपाईं तीस वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने दिनको तीनपटक खाँदा तपाईंको शरीरलाई हित गर्छ । तपाईं तीसभन्दा माथिको हुनुहुन्छ भने दिनको दुईपटक खानु नै राम्रो । हाम्रो शरीर र दिमागले खाली पेटमै राम्रोसँग काम गर्छन् । यसरी सचेत भएर खाना खानुहोस् कि भुँडीको थैलोबाट साढे दुई घन्टामा खाना बाहिर निस्कियोस् । १२ देखि १८ घन्टामा खाना शरीर प्रणालीबाटै पूर्णरूपमा खत्तम होओस् । खाना खाँदा तपाईंले यी सामान्य सचेतता अपनाउनु सक्नुभयो तपाईं धेरै शक्तिवान्, चुस्त र चनाखो रहन सक्नुहुन्छ ।

चपाउनुसतपाईंका बाआमाले तपाईंलाई बाल्यकालमा धेरैपटक एउटै कुरो भन्ने गर्नुहुन्थ्यो होला- खाना राम्ररी चपाएर खाऊ त्यसो भए राम्ररी पच्छ । अध्ययनहरूले देखाएका छन् कि स्टार्चयुक्त खाना (चामल, गहुँ, मकै, आलु र कासाभाजस्ता अन्ननिर्मित खाना) को ३० प्रतिशत पाचन थुकको सहयोगले हुन्छ । त्यसो हुँदा खाना खाएको कमसेकम दुई घन्टामा मात्र सुत्नु उचित हुन्छ । पाचनले तपाईंको शरीरमा मेटाबोलिक गतिविधि (सक्रियता) सुरु हुन्छ । यस्तो अवस्थामा तपाईं सुत्नुभयो भने तपाईं न त सुत्नुहुन्छ, न राम्ररी पचाउन नै सक्नुहुन्छ । खाना खानेबित्तिकै सुत्दा तपाईंको खानाको चरित्रअनुसार तपाईंले खाएकोमध्ये धेरै भाग खाना नपच्न सक्छ ।

योगमा हामी भन्छौं, ‘तपाईं थोरै मात्र खाना खानुहुन्छ भने पनि त्यसलाई तपाईंले २४ पटक चपाउनुपर्छ । यसको वैज्ञानिक आधार छ । तर एउटा कुरा के हो भने यसो गरे खानाको पूर्वपाचन मुखमै हुन्छ र त्यसले तपाईंको शरीर प्रणालीलाई ढिलो बनाउँदैन । अर्को कुरो, तपाईंले खाना २४ पटक चपाउँदा त्यो खानाको सम्पूर्ण विवरण तपाईंको शरीर प्रणालीमा स्थापित हुन्छ र शरीरका प्रत्येक कोषले तपाईंको शरीरका लागि कुन खाना ठीक हो, कुन बेठीक हो भनेर निर्णय गर्न सुरु गर्छ ।

तपाईंले केही समयसम्म यसो गर्नुभयो भने तपाईंका प्रत्येक कोषलाई के मन पर्छ या पर्दैन भन्नेबारे उनीहरूले शिक्षा पाउनेछन् । खाना खाने क्रममा पानी नपिउन पनि सल्लाह दिइन्छ । खाना खानुअघि थोरै मात्रै पानी पिउनहोस् या खाना खाएको आधा घन्टा या पैंतालीस मिनेटपछि मात्रै पानी पिउनुहोस् । खानेपानीलाई रातभर तामाको भाँडोमा राख्नु उचित हुन्छ । यसले पानीका ब्याक्टेरिया मार्छ र पानीलाई तागतिलो बनाउँछ । एक परीक्षणले अस्पतालका सघन उपचार कक्ष (आईसीयू) को खाट, बेन्च र हातले छोइने स्थानहरूमा तामाको प्रयोग गर्दा अस्पतालमा संक्रमण फैलाउन सक्ने ९७ प्रतिशत ब्याक्टेरिया मरेको पाइएको छ ।

खानाको समय

खासगरी दक्षिण भारतमा उपलब्ध तरकारी तथा सागपातलाई शरीरको आवश्यकतालाई ध्यानमा राख्दै गर्मीयामको समयमा एक तरिकाले पकाइन्छ, वर्षायाममा अर्को तरिकाले र जाडोयाममा झन् अर्को तरिकाले । खानपानको त्यो ज्ञानलाई प्रयोग गर्दै आफ्नो स्थान र मौसमअनुसारको खानपान अपनाउनु उचित हुन्छ । उदाहरणका लागि पुस-माघमा गहुँ र तिल खाइन्छ, जसले शरीरमा ताप उत्पन्न गर्छन् ।

जाडोयाममा प्रायः छाला फुट्छ, मौसम चिसो हुन्छ । तर हाम्रो परिवेशमा मान्छेहरू अन्यत्रजस्तो अझै पनि कोल्डक्रिमहरू लगाउँदैनन् । बरु दैनिक रूपमा तिलजन्य भोजन खान्छन् मान्छेहरू । यसले शरीरलाई न्यानो र छालालाई सफा राख्छ । शरीरमा धेरै ताप भएपछि हाम्रो छाला फुट्दैन । गर्मीयाममा शरीर तातो हुन्छ, त्यसो हुँदा शरीरलाई चिसो राख्न खाना खाइन्छ । उदाहरणका लागि तमिलनाडुमा काम्बु नामक एक प्रकारको कोदोको भोजन खाइन्छ । यी कुरा पहिल्यैदेखि प्रचलित छन् र खास मौसममा यिनले शरीरलाई समायोजन गर्छ ।

सन्तुलित भोजन

सन्तुलित भोजन खानु उत्तिकै महत्वपूर्ण छ । तर त्यसको मतलब कुन खानामा कति प्रोटिन, भिटामिन र कार्बोहाइड्रेट हुन्छ भनेर हामी रुमलिनु पनि पर्दैन । पर्याप्त रूपमा तरकारी, सागपात, गेडागुडी, दाल र अन्य अन्न खाँदा स्वतः सन्तुलित भोजन हुन जान्छ । अहिले भारतमा आठ करोड भारतीय मधुमेह रोगोन्मुख छन् । यसको प्रमुख कारण धेरैजसो भारतीयले एक अन्नको मात्र भोजन गर्नु हो । मान्छेहरू कि गहुँजन्य भोजन खान्छन् कि त चामलजन्य । एक प्रकारको मात्रै खाना नियमित खाँदा यसले समस्या ल्याउँछ नै । यसकारण व्यक्तिको खानामा धेरै प्रकारका अन्न समावेश गर्नु आवश्यक छ ।

भारतमा परम्परागत रूपमा मान्छेहरू टन्न चना, दाल, अनेक प्रकारका गेडागुडी र अन्न खाने गर्थे । तर विस्तारै यो खाद्य परम्परा तोडिँदै गएको छ । तपाईं दक्षिण भारतीय नागरिकका थालमा हेर्नुहुन्छ भने त्यहाँ एक थुप्रो भात र थोरै सागसब्जी मात्र देख्नुहुन्छ । यो गम्भीर समस्या हो । विगत २५ देखि ३० वर्षदेखि चलेको सम्पूर्ण रूपमा कार्बोहाइड्रेट भोजनतर्फको यो प्रचलनलाई ठ्याक्कै उल्ट्याउनुपर्छ । किनभने धेरै कार्बोहाइड्रेड र थोरै मात्र अन्य खानेकुराले व्यक्तिको दीर्घकालीन स्वास्थ्यमा गम्भीर समस्या पार्नेछ । मान्छेको मस्तिष्कमा यसबारे आधारभूत रूपमा वैचारिक परिवर्तन हुन आवश्यक छ । खानाको धेरै अंश भात हुनु हुँदैन, बरु अरू चीज हुनुपर्छ । भात खाने कि नखाने त तपाईंको इच्छा हो । भोकको अवस्थाअनुसार भातबारे निर्णय गर्नुपर्छ ।

शरीरका लागि खाना

खाना शरीरका लागि हो । के खाने र कति खाने भन्ने कुरा तपाईंले आफ्नै शरीरलाई सोध्ने हो । कुनै पनि खाना खाने बानी बसाल्नु या कुनै पनि भोजनको स्वादको पछि लाग्नुभन्दा पनि आफ्नो शरीरबारे अत्यन्त सचेत भएर र विवेक प्रयोग गरेर खाना खानुपर्छ । सहजै पच्ने र रेसादार अन्न-गेडागुडी-सागपात खानु राम्रो हुन्छ । तर माछामासु स्वास्थ्यका लागि अहितकारी रहेको हामीले ख्याल राख्नुपर्छ । उल्लिखित सबै विवरण सबैलाई काम नलाग्ला तर धेरैका लागि उपयोगी छन् । तर यो पनि भुल्नुहुन्न कि प्रत्येक शरीर आफैंमा भिन्न संरचना हो र विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले माथिका सुझाव मान्नैपर्छ भन्ने छैन । खानपान र पोषणबारे राम्रो जानकारी भएका डाक्टरसँग सल्लाह गरेर मात्र तिनले खानपान बदल्न सक्छन् ।

सद्गुरुडटओआरजीबाट

हाइलाइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *